News Griha :: न्यूजगृह
सभामुख घिमिरे भन्छन्– संघीयतामाथि प्रश्न उठ्न थाल्यो 

काठमाडौं— सभामुख देवराज घिमिरेले संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताएका छन् ।

शुक्रबार संघीय संसद् सचिवालयले काठमाडौंमा आयोजना गरेको संघीय संसद् र प्रदेश सभाको अनुभव आदान–प्रदान एवम् अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीयताको विषयमा प्रश्नहरु उठ्न थालेको बताएका हुन् ।

उनले संघीयता उचित भएन र संघीयताले जनताको आवश्यकता पूर्ति भएन भन्ने टिकाटिप्पणी हुन थालेको बताए ।

उनले संविधानको यो व्यवस्थामाथि नै छलफल हुनुपर्ने माग समेत आउन थालेको भन्दै संघ र प्रदेश सभाहरुले जनआंकाक्षा अनुरुपको ऐन, कानून बनाउनुपर्ने बताए ।

उनले भने,‘वास्तवमा जनताले चाहेको व्यवस्था यही हो । यो व्यवस्था राष्ट्रको हितमा छ । यो व्यवस्थाले तीन तहको सरकार सञ्चालन गरिरहँदा अहिले हामी यहाँ उपस्थित संघमा, प्रदेशमा जिम्मेवारी लिएका छौँ भने स्थानीय तहमा कार्यान्वयन गर्ने शक्ति जनताको बिचमा काम गरिरहेको छ । अहिले विभिन्न क्षेत्रबाट हाम्रो संघीयता उचित थिएन कि ? जनताका आवश्यकता पूर्ति भएनन् कि भन्नेखालका टिकाटिप्पणीहरु देखा पर्न थालिरहेको छ । यसलाई पनि हामीले कसरी बुझ्ने ?’

उनले जनताको अपेक्षा पूरा गर्नेगरी कानून बनाउनुपर्नेमा जोड दिए । जनपक्षीय कानून बनाउनका लागि संघ र प्रदेश सभा र सांसदहरु सिर्जनशिल हुनुपर्ने बेला आएको बताए । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  २०:०३
Weather Update