News Griha :: न्यूजगृह
गृहमन्त्रीलाई पत्रकारको प्रश्न सुन प्रकरणको नाइके तपाई हो ? : गृहमन्त्रीको जवाफ तपाईँलाई त्यस्तो लाग्छ ?

काठमाडौं— उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, सय किलो सुन प्रकरणमा आफ्नो नाम जोडिनु भ्रष्टाचारविरुद्धको अभियानलाई रोक्न सकिन्छ भन्ने नसोच्न चेतावनी दिएका छन् ।

सुन प्रकरणपछि शुक्रबार बिहान त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अनुगमनपछि पत्रकारसँग उनले सङ्गठित ढंगले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यो सपना नदेख्न चेतावनी दिए ।

सय किलो सुन प्रकरणमा गृहमन्त्री नै यसको नाइके हो भन्ने समाचार आइरहेको छ नि भन्ने प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने ‘तपाईँलाई लाग्यो ? त्यस कारण यो प्रश्नै होइन् । म चाँहि चुनौति दिन्छु । यो देशको भ्रष्टाचारविरुद्धको अभियानलाई सुशासन स्थापितको अभियानलाई प्रधानमन्त्रीको निर्देशनमा हामीले व्यवहारिक नेतृत्व गरिरहेका छौं । यसमा आम जनताको सर्मथन छ । सङ्गठित ढंगले यसलाई असफल पार्न सकिन्छ भन्ने नसोचे हुन्छ । कसैले नसोचे हुन्छ भ्रम पार्न सकिन्छ । हामी विचलित हुनेवालै छैन् ।’

उनले कुनैपनि हालतमा अनुसन्धान पुरा गरी दोषीलाई कारबाही गरी छाड्ने प्रतिवद्धता जनाए । आवश्यक परे राज्यका अन्य अङ्क परिचालन गरेरै भएपनि घटनाको रुटमा पुग्ने उनको दृढता छ

उनले भने, ‘जस्तो सुकै र जो सुकै भएपनि यसको नेक्सस र रुटमा पुग्ने गरी अनुसन्धानलाई अगाडि बढाएर कारबाहीको प्रकृयामा जानु पर्छ भन्ने हाम्रो जोड रहेको छ । र सरकारको तर्फबाट प्रधानमन्त्रीको यही निर्देशन छ । मैले अहिले पनि सम्बन्धित सबै अधिकारीहरूलाई त्यही रुपमा निर्देशन दिएको छु ।’ 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १२:४६
Weather Update