
काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा पक्राउ पर्नेहरूको संख्या १० पुगेको छ ।
राजस्व अनुसन्धान विभागले बिहीबार साँझ थप दुई जनालाई पक्राउ गरेपछि सुन तस्करी गरेको आरोपमा पक्राउ पर्नेहरूको संख्या १० पुगेको हो ।
विभाग स्रोतका अनुसार बिहीबार साँझ पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट छन् । विभागले पुष्करलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पक्राउ गरेको हो भने कृष्ण श्रेष्ठलाई कोटेश्वरबाट पक्राउ गरिएको हो ।
विभागले १०० किलो सुन तस्करी प्रकरणमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रा.लि.का सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, चिनियाँ नागरिक जेयुङ लिन र रामकुमार भुजेललाई पक्राउ गरेको छ ।
उनीहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।