News Griha :: न्यूजगृह
अदालतले दियो पक्राउ परेकाहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं— सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ ।

बिहीबार आरोपीहरूलाई अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको उच्च अदालत पाटनकी उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिइन् ।

अहिलेसम्म विभागले एक चिनियाँसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तीमध्ये बिहीबार सात जनाको म्याद थप भएको हो ।

बिहीबार पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

अन्य पक्राउ परेकामा ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङकङबाट ल्याइएको एक सय किलो सुन बरामद गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १८:०१
Weather Update