News Griha :: न्यूजगृह
सुन भित्रिएको घटना : भन्सार विभागले बनायो छानबिन समिति 

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।

विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए । उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा ककसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने सूचना अधिकारी खड्काले बताए ।

राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको करिब १०० किलो अनुमानित सुन बरामद गरेको छ । यसको यकिन विवरण खुलिसकेको छैन। सुनको तौल यकिन गर्न नेपाल राष्ट्र बैंक लगिएको छ । हङकङबाट क्याथे प्यासिफिक एअरलाइन्स मार्फत काठमाडौं आएको कार्गोबाट सुन ल्याइएको हो ।

उक्त कार्गो सामानमा मोटरसाइकल र स्कुटरको ब्रेक शु थिए । त्यही भित्र राखेर सुन तस्करी भएको विभागको भनाई छ । विभागले अहिलेसम्म यस प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ। जसमा एक जना एजेन्टसमेत छन्।  

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ११:१२
Weather Update