
रोल्पा— त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । सो कार्यक्रम यही साउन १ गतेदेखि लागू भएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले बताए । साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ ।
बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन । ‘छोरी जन्मिदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ,’ उपाध्यक्ष डाँगीले भने । छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।
कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ मा १० लाख विनियोजन गरेको छ ।