
काठमाडौं— भन्सार जाँचपास भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको १०० किलो सुन राजस्व अनुसन्धान विभागले बुधबार साँझ बरामद गरेको छ ।
एक अर्बभन्दा बढी पर्ने तस्करीको यो सुन व्यवसायी दीपक मलहोत्राको रहेको विभागको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुनमाथि विभागको अनुसन्धान जारी छ ।
प्रारम्भिक अनुसन्धानमा सो सुन व्यवसायी दीपक मलहोत्राको भएको देखिएको अनुसन्धानमा खटिएका अधिकृतहरूको भनाइ छ तर अनुसन्धान जारी रहेकाले उनीहरू औपचारिक रूपमा बोल्न चाहेका छैनन् ।
विभागले रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र बा.२च २३२४ नम्बरको ट्याक्सीचालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले आफूहरू अहिले अनुसन्धानकै क्रममा रहेको बताए । अब यस विषयमा गम्भीर रूपले अनुसन्धान हुने उनी बताउँछन् ।
यो तस्करीमा ठूलै व्यापारीको संलग्नताको आशंका गरिएको छ । भन्सार जाँचपासबाट बाहिरिएको सुन भएकाले यसमा भन्सारका कर्मचारी पनि छानबिनमा छन् ।