
बागलुङ— बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो । नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो ।
नगरभित्र रहेका छाडा कुकुरको व्यवस्थापन गर्न पालिकाले कार्यविधि नै बनाएर कार्यान्वयनमा ल्याएको छ । कार्यविधि अनुसार घरपालुवा कुकुरको दर्ता गरी रेबिज विरुद्ध खोपको व्यवस्थापन गर्ने, छाडा कुकुर पाल्नका लागि कुकुर होस्टेल निर्माण गर्ने तथा मृत्यु भएका कुकुरको शव व्यवस्थापन गर्ने उल्लेख छ । चालू आर्थिक वर्षमा कुकुर होस्टेल स्थापना गरिने नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिए । उनका अनुसार पालिकाले चालु आर्थिक वर्षमा छाडा कुकुर नियन्त्रण तथा होस्टेल निर्माणका लागि १५ लाख विनियोजन गरेको छ ।
नगरपालिकाले आर्थिक वर्षको पहिलो दिनबाटै कुकुर व्यवस्थापनका लागि घरपालुवा कुकुरको दर्ता गर्न थालेको प्रमुख सापकोटाले बताए। घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार घरपालुवा कुकुरको दर्तासँगै भिटामिन, रेबिज र अन्य रोगको खोप प्रदान गर्न थालिएको छ भने घरधनीलाई कुकुर दर्ता प्रमाणपत्र प्रदान गर्न थालिएको छ ।
पशु सेवा शाखा प्रमुख सापकोटाका अनुसार कुकुर दर्ताका लागि दुई सय तिर्नुपर्नेछ भने नवीकरणका लागि एक सय रुपैयाँ तिर्नुपर्नेछ । नगरपालिकाले दर्ता भएका कुकुरलाई एक वर्षमा एक हजारभन्दा बढी सेवासुविधा दिने उनले बताए । अहिलेसम्म १२ वटा कुकुर दर्ता गरिएको बागलुङ नगरपालिकाको पशु सेवा शाखाले जानकारी दिएको छ ।













