News Griha :: न्यूजगृह
आज वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं— वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ ।

रथयात्राका लागि आज दिउँसो ४ बजे काठमाडौंको इन्द्रचोक नजिकै रहेको केलटोलको मन्दिरबाट मच्छिन्द्रनाथको मूर्ति खटमा राखेर दरबारमार्गमा रहेको तीनधारा पाठशाला अगाडि लगिनेछ । त्यसपछि मूर्तिलाई खटबाट निकालेर रथमा राखेर रथयात्रा सुरु हुनेछ ।

आज सेतो मच्छिन्द्रनाथको रथलाई तीनधारा पाठशालाबाट तानेर असन पुर्‍याइनेछ । असनमा आज राष्ट्रपति रामचन्द्र पौडेलले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ ।

शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा हुने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छिन्द्रबहाल लगरेर अन्त्य गर्ने चलन छ ।

हरेक वर्ष यो जात्रा गरेपछि वर्षा र सहकाल हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन भोलि असनबाट वसन्तपुरमा रहेको कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगनसम्म तानेर जात्रा गर्ने परम्परा छ ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०९:५४
Weather Update