News Griha :: न्यूजगृह
गाउँपालिकाले स्वास्थ्य बीमा गर्‍यो, रकम भुक्तानी गरेन

बाग्लुङ— निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका स्थानीय स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।

गाउँपालिकाले निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनादेखि लागु हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको हो ।

निसीखोला–१ किटेनीका वीरबहादुर विक गत फागुन २५ गते जाँचका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगे ।

गाउँपालिकाले फागुनदेखि लागु हुन्छ भनेर दिएको स्वास्थ्य बीमा परिचयपत्र साथमै बोकेर गएका विकलाई स्वास्थ्य केन्द्रले बीमा योजना लागु नभएको भन्दै पूर्ण शुल्कमा उपचार गर्‍यो ।

विक मात्र होइन यतिबेला निसीखोलाले फागुनदेखि लागु हुने गरी बीमा गरेका स्थानीय सुविधाबाट बञ्चित छन् ।

गत असारमा सम्पन्न दशौँ गाउँसभाले गाउँपालिकाका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो । सोहीअनुसार गाउँपालिकाले पाँच हजार चार सय परिवारका लागि राजस्व बाँडफाँटबाट रु दुई करोड विनियोजन गरेको थियो ।

पहिलो चरणमा नौ हजार एक सय ८५ जनाको स्वास्थ्य बीमा गर्ने गरी विवरण संकलन गरिएको थियो । गाउँपालिकाले हालसम्म पहिलो चरणको रु ६४ लाख बीमा रकम भुक्तानी गर्न नसक्दा बीमा गरेका नागरिक पनि सुविधाबाट बञ्चित भएका हुन् ।

संघ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँटबाट नागरिकको बीमा गर्ने निर्णय गरे पनि संघ र प्रदेशबाट समयमै बजेट नआउँदा रकम भुक्तानी गर्न नसकिएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०९:३६
Weather Update