
काठमाडौं— नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेको हो । रूपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार गत माघ १० गते रूपन्देहीको सियारी गाउँपालिका— १ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको चेक दिएका थिए ।
बैंक अफ काठमाडौंको उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि विजयबहादुरविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो । २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए ।
जसपाले कारबाही गरेपछि उनी गत मङ्सिरमा भएको निर्वाचनमा एमाले प्रवेश गरेर प्रदेश सभामा प्रतिस्पर्धा गरे पनि पराजित भएका हुन् ।
बाँकेमा पक्राउ परेका यादवलाई रूपन्देही ल्याइँदैछ । त्यसपछि रूपन्देही प्रहरीले थप अनुसन्धान गर्नेछ ।