
काठमाडौं— आर्थिक वर्ष २०७९/८० मा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने एक सय ४९ जना सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही गरिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच अभियान थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । चालकले लागुऔषध सेवन गरी सवारी साधन चलाए/नचलाएको सम्बन्धमा टीएचसी किटको प्रयोग गरी विसं २०७९ साउन ९ गतेदेखि जाँच अभियान सुरु गरिएको उनले जानकारी दिए ।
लापसे गरी सवारी साधन चलाउने चालकमध्ये भाडाका सवारी साधन चलाउने चालक पनि रहेका भन्दै प्रहरी वरिष्ठ उपरीक्षक भट्टले यात्रु बोक्नेजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने व्यक्तिले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु निन्दनीय कार्य भएको बताए । यसले आफू र यात्रु दुवैको ज्यान जोखिममा पुर्याउने उनको भनाइ छ ।
लापसे सेवन गरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुको जीवन समेत जोखिममा पर्ने भएकाले सार्वजनिक यातायातका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नं १०३ वा प्रहरीको हटलाइन नं १०० मा खबर गर्न अनुरोध गरिएको छ । रासस