News Griha :: न्यूजगृह
नारायणकाजीको अनुगमनपछि भक्तपुर–नगरकोट सडक विस्तारको ठेक्का सम्झौता रद्द

भक्तपुर— दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर सुरु भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि रद्द गरिएको छ ।

वि.सं. २०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ साल जेठ २२ गते पहिलो ठेक्का सम्झौता गरी निर्माण सुरु भएको १५ किलोमिटर छ सय ६० मिटर लामो भक्तपुर–नगरकोट सडकखण्ड आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको हो ।

गत फागुन १८ गते उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले उक्त सडकखण्डको प्रत्यक्ष अनुगमन गरी मन्त्री श्रेष्ठले एक महिनाभित्र सडकको सम्पूर्ण निर्माण कार्य सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्ने सूचना जारी गरेको हो ।

शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्तरूपमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएर अन्तिम पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएपछि निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्न १४ दिने सूचना जारी गरेको हो ।

सडक ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि र अराभली इन्फ्रापावर लिमिटेड जेभी ताल्चिखेल, सुनाकोठीविरुद्ध ठेक्का नतोड्नुपर्ने कुनै कारण भए १४ दिनभित्र कार्यालयमै उपस्थित भएर जानकारी गराउन निर्देशनालयले सार्वजनिक सूचना जारी गरेको हो ।

अन्तिम पटक भन्दै गत फागुन महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी म्याद थप गरे पनि कार्य अगाडि नबढेको र निर्देशनालयले पटक–पटक लिखित र मौखिक निर्देशन दिए पनि ठोस प्रगति नदेखिएको भन्दै अब ठेक्का तोड्नुको विकल्प नदेखिएको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २१:३३
Weather Update