News Griha :: न्यूजगृह
बाजेको कुटाइबाट नातिको मृत्यु

बैतडी— बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका– ६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो । बाजे गणेशकै कुटाइबाट आठ वर्षीय नाति रिजन साउद गम्भीर घाइते छन् । उनको कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला गणेशले दुवैजनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । गणेशलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए । रिजन र रेशमका बुबा कामको सिलसिलामा धनगढीमा छन् ।

कुटपिटको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १०:१०
Weather Update