बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते

महेन्द्रनगर— बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् ।
बिहीबार साझँ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिए । उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।
डगौंरालगायत १०/१२ महिलाको समुह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौँरामाथि आक्रमण गरेको हो ।
‘सबैले हो–हल्ला गरेपछि बाघ भाग्दा डगौंराको ज्यान जोगियो’,वडाध्यक्ष रानाले भने,‘आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ ।’
यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८० ०८:३०