News Griha :: न्यूजगृह
पूर्ण स्वचालित प्रणाली मार्फत् पेसी व्यवस्थापन गर्न बारकाे माग

काठमाडौं— कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल बार एशोसिएशनले १५ दिनभित्र पूर्ण स्वचालित प्रणाली मार्फत् पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउन माग गरेको छ ।

कामु प्रधानन्यायाधीशसमक्ष आज बारका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गएको टोलीले आज उक्त विषयमा ध्यानाकर्षण गराउँदै १५ दिनभित्र पूर्ण स्वचालित प्रणाली मार्फत् पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउन माग गरेको हो । 

भेटपछि बारका अध्यक्ष घिमिरले बारले पूर्ण स्वचालित प्रणाली मार्फत् १५ दिनभित्र पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउने विषयमा ध्यानाकर्षण गराइएको जानकारी दिए ।

भेटमा कामु प्रधानन्यायाधीश कार्कीले उक्त विषयवस्तु गम्भीर रहेको र एक हप्ताभित्र आफूले प्रक्रिया अघि बढाउने बताएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

गत फागुन १३ र १४ गते वीरगञ्जमा सम्पन्न बारको १५औँ राष्ट्रिय सम्मेलन तथा केन्द्रीय कार्यकारिणी परिषद्को ४८ औँ बैठकको निर्णयबमोजिम जारी घोषणापत्रमा पूर्ण स्वचालित प्रणाली मार्फत् पेसी व्यवस्थापन गर्न माग गरेको थियो ।

कामु प्रधानन्यायाधीश कार्कीको नेतृत्व र बारको संलग्नतामा न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति, अनियमितता र भ्रष्टाचार एवम् विचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायसहितको प्रतिवेदनको कार्यान्वयन गर्न र स्वतन्त्र न्यायपालिकाको रक्षार्थ लामो आन्दोलनसमेत गरेको बारले स्मरण गराएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १९:३३
Weather Update