News Griha :: न्यूजगृह
सेनाको संख्या निर्धारण राष्ट्रिय आवश्यकताको आधारमा : उपप्रधानमन्त्री खड्का

काठमाडौं— उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या राष्ट्रिय आवश्यकताको आधारमा निर्धारण हुने बताएका छन् । 

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाको संख्यासँग जोडेर केही कुरा आएको भन्दै त्यसबारे सरकारको धारणा सार्वजनिक गरे । 

उनले भने, ‘नेपाली सेनाको संख्यासँग जोडिएर केही कुराहरू आएका छन् । त्यस सन्दर्भमा कुनै पनि देशको सेनाको संख्या र त्यस देशको भौगोलिक अखण्डता राष्ट्रिय आवश्यकता अन्तर्राष्ट्रिय परिवेश र बेला बेलामा मुलुकको आवश्यकता अनुसार निर्धारण हुने गर्दछ । नेपाली सेनाको संख्या राष्ट्रिय समीक्षा केन्द्रको सिफारिसमा नेपाल सरकारको निर्णय बमोजिम निर्धाणर हुन्छ ।’

हाल सेनामा ८१ हजार २७७ जना कार्यरत रहेको उनले जानकारी दिए । ७४ हजार ५०५ पुरुष र ६ हजार ७७२ महिला सेनामा कार्यरत रहेको उनको भनाइ छ । 

मुलुकको आवश्यकताअनुसार सेनालाई परिचालन गरिएको बताएका उनले भने, ‘त्यो सेना पूर्ण रूपमा आफ्नो जिम्मेवारीमा सक्रियपूर्वक लागेको छ । सेनाको संख्या विपद् व्यवस्थापन, निर्माण, शान्ति सेनामा लगाएका छौँ । सामान्य ठेकेदारी प्रथामा हुन नसकेको काम सेनाबाट गराउँदै आएको छ । सेनाको उच्चतम सदुपयोग गर्दै आइरहेका छौँ ।’

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पनि नेपाली सेनाको भूमिका विश्वमा सम्मानित भएको बताएका उनले मुलुकको आन्तरिक सुरक्षामा पनि सेना जिम्मेवार भएको बताए । सेनालाई बंकरबाट ब्यारेक फर्काउने अभियान चलाइरहेको उल्लेख गर्दै मन्त्री खड्काले आगामी वर्षका लागि दुई अर्ब बजेट विनियोजन गरिएको बताए ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १७:१७
Weather Update