
काठमाडौं— कृषि तथा पशुपन्छी विकासमन्त्री, वेदुराम भुसालले पुश चौपायमा देखिएको लम्पी स्किनको समस्या समाधानका लागि सरकारले आवश्यक सबै उपाय अपनाएको दाबी गरेका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले भने, ‘लम्पी स्किन रोगको लागि सरकारले मन्त्रालयबाट सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरिएको छ ।’
साढे दुई महिना अगाडिदेखि उपचार तथा नियन्त्रणको प्रयास भइरहेको उनले बताए । यस रोग नियन्त्रणको लागि संक्रमण नभएका पशुलाई भ्याक्सिन लगाउने कार्य भएको जानकारी दिँदै उनले भने, ‘यो भ्याक्सिन हाम्रो देशमा बन्दैन ।’
लम्पी स्किन हाल देशका सबै जिल्लामा देखा परेको र आजसम्म ७ लाख ८२ हजारभन्दा बढी पशु संक्रमित भएको उनले जानकारी दिए ।
‘अहिले गाई भैँसीलाई लाग्ने रोग लम्पी स्किन रोग व्यापक रूपमा फैलिएको छ । यो रोग नयाँ प्रकारको सरुवा रोग हो । यो रोग नेपालमा पहिलो पटक २०७७ मा देखिएको थियो । यस वर्ष देशका सबै जिल्लामा यो रोग देखा परेको छ,’ उनले भने ‘हालसम्म ७ लाख ८२ हजार १ सय ८४ पशु संक्रमति भएका छन् । संक्रमतिमध्ये २८ हजार १ पशुको मृत्यु भएको छ भने ५ लाख २१ हजार ८ सय १४ निको भएका छन् । २ लाख ३२ हजार ३ सय ९ अहिले पनि संक्रमित अवस्थामा छन् ।’