News Griha :: न्यूजगृह
नगर प्रहरी र व्यापारीबीच झडप
प्रतीकात्मक तस्बिर ।

बारा— कलैया बजार व्यवस्थित गर्न खटिएका नगर प्रहरी र व्यापारीहरूबीच झडप हुँदा एक नगर प्रहरी गम्भीर घाइते भएका छन् । कलैया हाट बजारमा व्यापारीले नगरपालिकाले उपलब्ध गराएको ठाउँमा व्यापार नगरी सडक पेटीमा सामान राखी व्यापार गर्दा सर्वसधारणलाई हिँडडुल गर्न समस्या हुन थालेपछि कलैया उपमहानगरपालिकाले पसल हटाउन नगर प्रहरी खटाएको थियो । 

अवरोध हटाउन नगर प्रहरीले काम थालनी गर्न थालेपछि व्यापारीले अवरोध सिर्जना गर्न खोज्दा व्यापारी र नगर प्रहरीबीच झडप भएको थियो । व्यापारीको कुटाइबाट नगर प्रहरी उज्वल यादव गम्भीर घाइते भएको नगरप्रमुख विनोद साहले जानकारी र्दिए । यादवलाई तत्कालै प्रदेशिक अस्पताल कलैया लगिएकामा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि वीरगञ्ज पठाइएको अस्पतालका अहेव प्रदीप यादवले जानकारी दिए । यादवको छातीमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ ।  

यसैबीच नगर प्रमुख साहले अस्पताल पुगी घाइते भएका नगर प्रहरीको अवस्था बुझेका छन् । नगरपालिकाको निर्णय कार्यान्वयन गर्न खटिएका नगर प्रहरीमाथि भएको आक्रमणको घोर भर्त्सना गर्दै दोषीलाई कारबाही गराउन कडा कदम चालिने उनले बताए । 

दुवैपक्ष बीचको झडपमा यादव सहित पाँच नगर प्रहरी घाइते भएका छन् । सोही झडपमा परी करिब एक दर्जन व्यापारी पनि घाइते भएको नेपाल तरकारी फलफूल खुद्रा व्यापारी संघका अध्यक्ष दिपलाल साहले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १४:३८
Weather Update