
काठमाडौं— महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारमा बजेट अभाव नभएको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा मन्त्री आचार्यले भने, ‘हालसम्म ५३६ जना दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरी महिलाहरूको जीवन रक्षामा सहयोग गरिएको अवस्था छ । आगामी आर्थिक वर्षमा कार्यक्रमको प्रभावकारिता अध्ययन गरी उक्त परियोजनालाई थप परिमार्जन गरी निरन्तरता दिने कार्यक्रम रहेको छ । यस कार्यक्रममा बजेटको कमी नरहेको जानकारी गराउन चाहन्छु ।’
मन्त्री आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमुना मन्त्रालयको रूपमा विकास गर्ने काम अगाडि बढिरहेको पनि बताए । उनले मन्त्रालयले दिएको ससर्त अनुदानको प्रभावकारीताको अनुगमन गरिने समेत बताए ।