
काठमाडौं— देशका विभिन्न भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ ।
सुनसरीको धरान, चतरा तथा झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एअरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । उक्त स्थान भएर बहने बिरिङ, कनकाईलगायतका नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले उच्च सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहँदा बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
Three days forecast pic.twitter.com/pmQPSoWuDo
— Nepal Weather Forecast (@DHM_Weather) July 12, 2023