News Griha :: न्यूजगृह
कलाकारको गोपनीयता र सुरक्षामा साइबर हमला : भुवन केसी

काठमाडौं— नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारको गोपनीयता र सुरक्षामा साइबर हमला बढेको दाबी गरेका छन् ।

मंगलबार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटी डेस्कबारे अन्तरक्रियामा बोल्दै उनले  गोपनीयता र सुरक्षामा साइबर हमला बढेको बताएका हुन् ।

केसीले प्रविधिका कारण सहज भएसँगै समस्या पनि बढीरहेको बताए । उनले प्रविधिले साइबर सुरक्षाको विषयमा नयाँ चुनौती थपेको बताए ।

‘हाम्रा कलाकारहरूको गोपनीयता र सुरक्षामा पनि साइबर हमला हुने गरेको हामीले पाएका छौँ । यी चुनौतीहरूलाई सम्बोधन गर्न चलचित्र विकास बोर्डले चलचित्र साइबर सेक्युरिटीसम्बन्धी डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिँदै सक्रिय कदम चाल्ने निर्णय गरेको छ,’ अध्यक्ष केसीले भने ।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले कर्मकाण्डी रूपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको आरोप लगाए । उनले टिकटकले धेरै लामो समयको भिडियो अपलोड गर्न पाउनेगरी विकास गरेकाले सबै भिडियो टिकटबाट नै सार्वजनिक हुने गरेको बताए ।

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले चलचित्रसम्बन्धी कानुनलाई नै बलियो बनाएर साइबर क्राइमका घटना कम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले प्रत्यक्ष असर परेका चलचित्रकर्मीहरूले उजुरी दिन कन्जुस्याँइ गर्नु नहुने बताए ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १८:२३
Weather Update