
गलकोट— बागलुङको गलकोट नगरपालिका–९ रिस्मी गाउँमा स्थानीय जातका भैँसीलाई संरक्षण गर्ने उद्देश्यले जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले ‘गोठ सुधार कार्यक्रम’ सम्पन्न गरेको छ ।
स्थानीय जातको भैँसी संरक्षणसँगै उत्पादित दुधको बजारीकरण गर्ने लक्ष्य अनुसार यसै वर्ष चिस्यान केन्द्र निर्माण गरिनुका साथै ‘गोठ सुधार कार्यक्रम’ सम्पन्न गरिएको केन्द्रले जनाएको छ ।
पछिल्लो समय आयातित भैँसीका जात भित्रिँदा स्थानीय लिमि र पाराकोटे जातका भैँसी लोप हुने खतरा बढेको भन्दै रिस्मी गाउँमा स्थानीय जातका भैँसी संरक्षण अभियान थालिएको केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले बताए । केन्द्रले स्थानीय जातका भैँसी संरक्षणका लागि किसानका लागि बर्सेनि प्रोत्साहनका कार्यक्रम ल्याउने तयारी गरिरहेको जनाएको छ ।
स्थानीय थोमलाल सापकोटाको घरमा स्थानीय जातको दुई वटा भैँसी छन् । उनले एउटा भैँसीको दुध घरमै खपत गरेपनि अर्को भैँसीको दुध सहकारीमा बिक्री गर्छन् । उनी जस्ता ३७ किसानको दुध सहकारीले सङ्कलन गरेर बजारीकरण गर्दै आएको छ ।
विसं २०७४ सालमा थापना भएको गलकोट कृषि सहकारी संस्थाले स्थानीय जातका भैँसीबाट उत्पादित दुध दैनिक सङ्कलन गरेर बजारीकरण गर्दै आएको हो ।
सहकारीले दुधको बजारीकरण गर्दा सहज भएको सापकोटाले बताए । उक्त गाउँमा आयातिक जातका भैँसीको सङ्ख्या कम रहेकाले स्थानीय जातका भैँसी पालनमा किसानको जोड छ ।
दुधको बजारीकरण गर्नुका साथै स्थानीय जातको भैँसी संरक्षण अभियानमा भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रसँग समन्वय गरी किसानलाई प्रोत्साहन गरिरहेको सहकारीका अध्यक्ष पुरुषोत्तम सापकोटाले जानकारी दिए । ‘दैनिक ४७ शेयर सदस्य किसानको दुध बजारमा पठाउँदै आएका छौँ । दैनिक एक सय ५० लिटर देखि तीन सय लिटरसम्म दुध बजारीकरण सहकारीमार्फत खपत हुन्छ,’ उनले भने ।
रिस्मी गाउँमा स्थानीय जातका भैँसीलाई प्रोत्साहन गरिएको भन्दै सापकोटाले यहाँ स्थानीय जातका लिमी र पाराकोटे भैँसी पालन भइरहेको जानकारी दिए । उनका अनुसार स्थानीय जातको भैँसीबाट कम दुध उत्पादन भए पनि ‘ब्राण्ड’ बनाएर महँगोमा बिक्री गर्ने सहकारीको लक्ष्य छ ।
गलकोट नगरपालिकाको रु नौ लाख र गलकोट कृषि सहकारीको रु तीन लाख ८६ हजार गरी कूल रू १२ लाख ८६ हजारमा दुध सङ्कलन केन्द्र तथा चिस्यान घर निर्माण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिए । उनले यहाँ स्थानीय जातका भैँसीबाट उत्पादित दुधको ब्राण्ड बनाउन सके महँगोमा बिक्री गर्न सकिने बताए । उनले दुध महँगोमा बिक्री गर्नाका लागि किसानलाई स्थानीय जातका भैँसी पाल्न प्रोत्साहनस्वरुप चिस्यान केन्द्र निर्माण गरिएको उल्लेख गरे ।
आयातित भैँसीका जात भित्रिँदा स्थानीय जातका भैँसी लोप हुने खतरा बढेको भन्दै गाउँमा स्थानीय जातका भैँसीबाट उत्पादित दुध बजारीकरण गर्दै किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको केन्द्रका प्रमुख डा. सापकोटाले बताए । उनले आयातित जातका भैँसी भन्दा स्थानीय जातका भैँसीमा रोगको सङ्क्रमणसमेत कम हुने बताउँदै स्थानीय जातका भैँसीलाई समेत संरक्षण गर्न आवश्यक रहेको बताए ।
‘स्थानीय जातबाट उत्पादित दुधको गुणस्तर बढी हुन्छ, दुधलाई व्यावसायिक रुपमा बजारीकरण गर्न सके किसानलाई राहत हुन्छ,’ सापकोटाले भने । स्थानीय जातको भैँसी संरक्षणका लागि केन्द्रले ३० किसानको गोठ सुधारका लागि आर्थिक वर्ष २०७९÷८० मा रु आठ लाख अनुदान प्रदान गरेको उनले जानकारी दिए । ‘स्थानीय जातको भैँसीको विषयमा अध्ययन तथा अनुसन्धान गर्न समेत रिस्मी गाउँलाई उदारणका लागि लिनसक्ने बनाउने हाम्रो लक्ष्य हो,’ उनले भने ।
गत वर्षको रिस्मी गाउँका ४७ किसानको दुध सङ्कलन र बजारीकरणबाट सहकारीमार्फत रु ३७ लाखको दुध बिक्री भएको गलकोटस्थित कृषि सहकारीले जनाएको छ ।
यहाँका २५ किसानले दुई वटा भैँसी पाल्दै आएका छन् भने अन्यले एउटाका दरले भैँसी पाल्दै आएका छन् । गण्डकी प्रदेशमा लिमी र पाराकोटे जातका भैँसी पाइने भए पनि आयातित जातका भैँसी भित्रिदा स्थानीय जातका भैँसी लोप हुने अवस्था आएको किसान बताउँछन् । रासस