काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा काम गरिरहेको सक्रिय मान्छेलाई उमेरले नछेक्ने बताएका छन् ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा एमाले बाग्मती संगठन कमिटीको सातौँ बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले शरीरले काम गर्नलाई बाधा नभएसम्म पार्टी कमिटीमा रहेर काम गर्न आग्रह गरे ।
‘पार्टीमा काम गरिरहेको मान्छे ७० वर्ष पुग्यो भनेर कमिटीमा बस्न नपाउने हुन्छ ? स्वस्थ भएका मान्छे ७० वर्ष भनेको के को उमेर हो र ? म दुई पटक मिर्गौला प्रत्यारोपण गरेको मान्छे १८ घण्टा काम गरिरहेको छु’, उनले भने,‘उमेर पुग्यो त्यसकारण कमिटीमा बस्न हुँदैन भन्ने कुरा मान्छेलाई शिथिल, निस्क्रिय बनाउने तरिका हो ।’
उनले उमेर कुनै वैज्ञानिक कुरा नभएको भन्दै विश्वको कुनै पनि देशका पार्टीले उमेर हदबन्दी नराखेको उल्लेख गरे । अध्यक्ष ओलीले राजनीतिक गर्नका लागि उमेरको हदबन्दी कुरा गर्नुभन्दा मुलुक बनाउने नीति निययमा बनाउनु राम्रो भएको बताए ।