News Griha :: न्यूजगृह
काठमाडौं उपत्यकालाई व्यवस्थित गर्न गुरु योजना बनाउँदै सरकार

काठमाडौं— शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको बताएकी छन् । 

मंगलबार जिल्ला समन्वय समिति ललितपुरको सातौँ जिल्ला सभामा मन्त्री गुरुङले काठमाडौं उपत्यका घरै–घरको मात्रै शहर भएको बताइन् । ‘साना–साना पार्क र फुटपाथकेही पनि छैन । धेरै घरहरू भएको शहर भएको छ । शहरलाई कसरी व्यवस्थित बनाउने भनेर सबै भत्काउन सकिने अवस्था छ्रैन,’ उनले भनिन्, ‘तर, पनि व्यवस्थित बनाउने दृष्टिकोणका साथ सरकारले अहिले काठमाडौं उपत्यकाको मास्टर पलान (गुरु योजना)बनाएर अगाडि बढाउने हिसाबले काम गरिरहेका छौँ ।’

उनले यसका लागि सुझाव दिन स्थानीय तहहरूलाई आग्रह समेत गरिन् । राज्यको स्पष्ट शहरको स्वरूप बनाउने नीति बनाएर कार्यान्वयन हुन नसक्दा काठमाडौं उपत्यकामा घरै मात्रै भएको उनको भनाइ छ । 

उनले सरकारले बनाएको गुरु योजनाले शहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन सकिने बताइन् । 

उनले काठमाडौं उपत्यकाबाट बग्ने वाग्मती नदी र त्यसका साहयक नदीहरूको सरसफाइ र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्विक सांस्कृतिक वस्तुहरूलाई संरक्षण गरी पर्यटन विकास गर्नेगरी सरकार लागिरहेको उल्लेख गरिन् । 

उनले काठमाडौं उपत्यकालाई स्वच्छ र सफा शहर बनाउने कार्यको थालनी पनि गरेको भन्दै शहर व्यवस्थित बनाउनका निम्ति मुख्य गरी अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउनुपर्ने बताइन् । सरकारलाई अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन धेरै गाह्रो भएको उनको भनाइ छ । ‘यदि सरकारले नदी किनारको अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन सक्यौँ भने ती कामहरू गर्न सजिलो हुन्छ,’ उनले भनिन्, ‘यसमा स्थानीय सरकार, जिल्ला समन्वय र सांसदहरूको सहयोग आवश्यक पर्छ ।’

उनको काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले फोहोर उठाएन भनेर दीर्घकालीन समाधान दिन नसकिने भन्दै स्थानीय सरकार नै फोहोर व्यवस्थापनमा लाग्नुपर्ने बताइन् । उनले ललितपुर जिल्ला भित्रका स्थानीय तहहरूले छुट्टै आफ्नै फोहोर व्यवस्थापन गर्न सक्नुपर्ने बताइन् । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १७:४५
Weather Update