News Griha :: न्यूजगृह
दुर्घटनाग्रस्त हेलिकोप्टरको अध्ययनका लागि छानबिन समिति बनाइने

काठमाडौं— सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । 

मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले भने, ‘अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ । भोलिसम्ममा गठन हुन्छ ।’

मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको छ । 

मन्त्री किरातीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधबारसम्ममा छानबिन समिति बनाएर मनाङ एअरको ९–एन–एमभी कलसाइन भएको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए । 

उनले सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको बताए ।

‘हामीले डे वान देखि नै सेफ्टी फर्स्ट भनेर यही नारा उच्चारण गरेका छौँ । सेफ्टीमा कुनै सम्झौता हुँदैन,’ उनले भने, ‘दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फर्स्ट भनेका छौँ, हाम्रो पहिलो सर्त सुरक्षा हो । हामी छलफल बहसमा नै छौँ, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौँ ।’ 

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १६:२०
Weather Update