News Griha :: न्यूजगृह
आइतबार मात्र नेपाल आएका थिए हेलिकप्टर दुर्घटनामा परेका ५ मेक्सिकन नागरिक  

काठमाडौं— मङ्गलबार बिहान सोलुखुम्बुमा भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनामा नेपाल भ्रमणमा आएका ५ मेक्सिकन नागरिकको मृत्यु भएको छ ।  ५ यात्रुमध्ये ३ जना महिला र २ पुरुष हुन् । 

मृत्यु हुने मेक्सिकन नागरिकमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक छन् । उनीहरु एकै परिवारका सदस्य भएको पनि खुलेको छ। 

उनीहरू आइतबार मात्रै १५ दिनको भिजिट भिसामा काठमाडौं आएका हुन् । हेलिकप्टर खोलुखुम्बुकोसोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका वडा नम्बर ५ को सीमा लाम्जुरा क्षेत्रमा दुर्घटनामा परेको हो । 

आइतबार काठमाडौंमा बसेर उनीहरु सोमबार मनाङ एअरको हेलिकोप्टरमार्फत सोलुखुम्बुको लुक्ला पुगेका थिए । सोमबार लुक्लामै बसेका उनीहरु मंगलबार बिहान काठमाडौं फर्किने क्रममा दुर्घटनामा परेका हुन् । लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको दुर्घटनामा परेको हेलिकप्टर सुर्केमा अवतरण गरेको थियो । ५ जना यात्रु लुक्लाबाट गाडीमार्फत सुर्के पुगेका हुन् ।

मनाङ एअरको उक्त हेलिकप्टर सीबी गुरुङले उडाएका थिए । हेलिकप्टर लाम्जुरा डाँडासम्म लुक्ला विमानस्थलसँग सम्पर्कमा थियो । लुक्ला विमानस्थलले काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ हेलिकप्टर सम्पर्कविच्छेद भएको हो । बिहान १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको हेलिकप्टर १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उनीहरूको शव आजै काठमाडौं ल्याइँदै छ । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १५:४१
Weather Update