
त्रिवेणी— फोहोर व्यवस्थापन शहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ। उचित व्यवस्थापन नहुँदा ठूला शहरले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहोरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ ।
मध्यविन्दुले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रवर्तन’ कार्यक्रममार्फत फोहोर व्यवस्थापनको काम सञ्चालन गरेको छ । उक्त कार्यक्रममार्फत फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्ने काम गरिएको छ । फोहोरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको मध्यविन्दु नगरपालिका नगरप्रमुख भीमलाल अधिकारीले बताए ।
नगरपालिकाले दिगो रूपमा नगरभित्रको फोहोरमैला व्यवस्थापनको कामलाई अघि बढाउन फोहोरसँगै आम्दानीलाई जोडेर हिँडाएको उनको भनाइ छ । ‘फोहोर व्यवस्थापन गर्दैगर्दा यसलाई दिगो बनाउन आम्दानीसँग जोड्ने योजना अनुरूप काम अघि बढिरहेको छ, सोही योजनाअनुसार कम्पोस्ट मल उत्पादन जोडिएको हो,’ उनले भने ।
नगरपालिकाले घरबाट उत्पादन हुने कुहिने फोहोर तथा वनजङ्गलमा रहेका सुकेका पातबाट कम्पोस्ट मल उत्पादन थालेको छ । हालैमात्र विभिन्न समूहमा आबद्ध एक सय ४३ जनाले वनजङ्गलमा सुकेका पात सङ्कलन गरी नगरपालिकालाई बेचेर आम्दानीसमेत गरेका छन् । प्रतिकेजी पाँच रुपैयाँ ४० पैसासम्ममा पात खरिद गरी मल उत्पादन गरिएको छ । सुकेको पात, गाईभैँसीको गोबरको मात्रा मिलाएर मल तयार गर्ने गरिएको छ । पात सङ्कलनबाट केही भए पनि आम्दानी भएको र सामान्य घरखर्च चलाउन सहयोग पुगेको स्थानीय सीता पुरीले बताइन् । सङ्कलित पातसहित घरबाट उत्पादन हुने कुहिने फोहोरबाट समेत मल उत्पादनको काम अघि बढेको छ । सुक्खा समयमा वनजङ्गलमा सुकेका पात सङ्कलन गर्दा वनमा हुने आगलागीका घटनामा कमी ल्याउनसमेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
नगरले घरबाट फोहोर वर्गीकरणलाई कडाइका साथ लागु गरेको छ । कुहिने र नकुहिने फोहोर वर्गीकरणपछि घरबाटै फोहोर व्यवस्थापनको काम हुने प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए । ‘फोहोर वर्गीकरण गर्नेबित्तिकै कतिपयले कुहिने फोहोर आफैँ पनि व्यवस्थापन गर्ने गर्नुभएको छ, यसबाट नगरले व्यवस्थापन गर्ने फोहोरमा कमी आएको छ,’ उनले भने ।
गण्डकी प्रदेश सरकारको करिब रु दुई करोड १३ लाख र पालिकाको करिब ६४ लाखको लागतमा फोहोरमैला व्यवस्थापनको कार्यक्रम अघि बढेको हो । कार्यक्रममार्फत फोहोर व्यवस्थापन केन्द्र निर्माण, कम्पोस्ट मल तयार पार्ने उपकरणलगायतका सामग्री खरिद गरिएको छ ।
कुहिने फोहोरबाट कम्पोस्ट मल तयार गर्नका लागि आवश्यक गोबरको व्यवस्थापनका लागि छाडा चौपाया व्यवस्थापनको कामसमेत सँगै अघि बढेको छ । यसले आवश्यक गोबर मलको माग पूरा हुने साथै छाडा चौपाया व्यवस्थापनको काममा समेत सहयोग पुग्ने कार्यक्रमका ‘फोकल पर्सन’ विवेक पोख्रेलले बताए ।
फोहोर व्यवस्थापनका क्रममा उत्पादन गरिने कम्पोस्ट मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराइने योजना छ । समग्रमा कार्यक्रमले फोहोर व्यवस्थापन, स्थानीय रोजगारी सिर्जना, छाडा चौपाया व्यवस्थापन, कम्पोस्ट मल उत्पादनलाई जोड्ने पोख्रेलले बताए । योसँगै उत्पादित कम्पोस्ट मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अर्ग्यानिक उत्पादनलाई समेत सहयोग पुर्याउने उनले बताए । रासस