News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज सोमबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

असार २५ गते सोमबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिकै सेरोफेरोमा देशको राजनीति केन्द्रित रह्यो । प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे सदनमा प्रस्टीकरण दिएपछि तीन दिनदेखि अवरुद्ध संघीय संसदका दुवै सदन सुचारु भएका छन् । प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा सोमबार दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए  । त्यसैगरी रोपाइँ, संसदीय समितिका बैठक, संसदभित्र बाहिर विभिन्न दलका नेताका भनाइ पनि सोमबार प्रमुख समाचार बने । डेंगी, बाढीपहिरो र मिटरब्याजसम्बन्धी विधेयकबारे पनि मुख्य मुख्य समाचार बने । त्यसैगरी शिक्षक तथा कर्मचारीको आन्दोलन पनि सोमबार मुख्य समाचार बनेका छन्  । 

000

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान  गरे । उनले  जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्यनिर्माणको संकल्प गरिसकेका कारण सिर्जनाहरुसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा जोड दिए ।

000

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपाली समाज, समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ ? नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने ? भन्नेकुराको अध्ययन गर्न आवश्यक रहेको बताए ।

000

परराष्ट्रमन्त्री एनपी साउदले विभिन्न देशमा रिक्त राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंगिने बताएका छन् । सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले राजदूत नियुक्तिको बारेमा निर्देशिकामा स्पष्ट रुपमा ५० प्रतिशत कर्मचारी परराष्ट्र सेवाबाट र ५० प्रतिशत कर्मचारी बाहिरबाट दिने किसिमको कार्यविधि रहेकाले सोही अनुसार अघि बढाउने बताए ।

000

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले गल्ती स्वीकारीसकेकाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई एमालेले स्वीकारेको बताएका छन् । सोमबार संसद् भवन परिसरमा सञ्चारकमीसँग कुरा गदै उनले प्रधानमन्त्रीले सारमा आफूले त्रुटि गरेको बताइसकेपछि भनिष्यमा त्यस्तो कमजोरी नदोहोर्‍याउने प्रतिवद्धता गरेकाले एमालेले प्रधानमन्त्रीको संसदको अभिव्यक्तिलाई स्वीकार गरेर अघि बढ्ने बताए ।

000

परराष्ट्रमन्त्री एनपी साउदले सरकारले छोटो समयभित्रै नेपाल—चीन कोरला नाका सञ्चालनमा ल्याउने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले चीन सरकारसँग नाका खुलाउने बारेमा विशेष छलफल भइरहेको र तातोपानी नाका खोल्ने प्रयास भइरहेको बताए ।

000

चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत सुरु भएको छ । सौर्यमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकाले सोमबारबाट नै व्रत सुरु भएको हो । चान्द्रमासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुन्छ । सो अवसरमा सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको थियो ।

000

१९ औं एसियाडको तयारीका लागि नेपाली महिला फुटबल टोली बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न त्यसतर्फ प्रस्थान गरेको छ । आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउ शहरमा १९ औं एसियाड हुँदैछ । उक्त एसियाडमा नेपालको २९ खेलमध्ये महिला फुटबल टोलीले पनि प्रतिस्पर्धा गर्दैछन् । सोही एसियाडको तयारी स्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण एशियाकै बलियो टोली बंगलादेशसँग दुई खेलको मैत्रीपूर्ण फुटबल आयोजना गरेको हो । उक्त मैत्रीपूर्ण खेलका लागि बंगलादेश जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सोमबार एक कार्यक्रमको बीच बिदाइ गरिएको छ ।

000

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाएका छन् । प्रमुख प्रतिपक्ष एमालेले जे बोल्यो त्यही नै आफ्नो पार्टीको भाष्य हो भन्ने ढंगले आफ्नो पार्टीलाई संसदमा बोल्न नदिएको दावी गर्दै उनले त्यसप्रति आफ्नो पार्टीको घोर आपत्ति रहेको बताए । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले संसदमा आफ्नो पार्टी स्वतन्त्र अस्तित्वमा रहेकाले सोही अनुसारको व्यवहारको अपेक्षा गरिएको पनि बताए ।

000

स्वास्थ्य सेवा विभागले डेंगी रोग नियन्त्रणका लागि सबैलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरेको छ । सोमबार डेंगी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा सञ्चारकर्मीहरुसँगको अन्तर्क्रियामा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले डेंगी नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण हुने बताए । उनले विभागले डेंगी नियन्त्रणका लागि आवश्यक तयारी गरिराखेको भन्दै विभागको तयारी पर्याप्त नहुने बताए । डेंगी नियन्त्रणका लागि घरभित्रैबाट काम गर्नुपर्ने उनले बताए ।

000

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीमा कुरा गरेको भन्ने अभिव्यक्ति भावनामा आएर दिएको बताएका हुन् । उनले आफ्नो छोरी ज्ञानु दाहाल बिरामी हुँदा दिल्लीमा प्रितम सिंहको घरमा बसेर उपचार गराएको र छोरी भेट्न आफू जाँदा सिंहले आफूलाई प्रधानमन्त्री बनेको देख्न चाहाने शुभेच्छा राखेको कुरा मात्र आफूले केही दिन अघिको सार्वजनिक कार्यक्रममा राखेको स्पष्ट पारे । भावनात्मक र पारिवारिक वातावरणमा भएको सो कुरालाई मात्र आफूले पुस्तक विमोचन कार्यक्रममा राखेको उनले बताए । प्रधानमन्त्री दाहालले आफूले सो कुरा नभनेको भएपनि हुने भन्दै आत्मआलोचना समेत ग्रे । उनले आफ्नो भावनात्मक अभिव्यक्ति राष्ट्रप्रति नै घात हुनेखालको नभएको बताए । उनले सो कुरा प्रधानमन्त्रीको हैसियतमा नबोलेको भएपनि हुने कुरा आफुले स्वीकार गरेको बताए ।

000

नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडिओ योजनावद्ध रुपमा रेकर्ड गरिएको बताएकी छिन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद राणाले आफूलाई रकम दिइएको कुरा अडिओमा योजनावद्ध रुपमा रेकर्ड गरिएको बताइन् ।  आरोपितले अदालतमा दिएको बयानमा समेत योजनावद्ध रुपमा रेकर्ड गरेको उल्लेख रहेको भन्दै उनले आफूलाई फसाउने गलत नियतले अडिओ बाहिर ल्याइएको बताइन् ।

000

मुलुकको वर्तमान आर्थिक परिसूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा अर्थतन्त्र सकारात्मक रहेको देखाएको हो । मुलुकको अर्थतन्त्रमा समस्या र चुनौतिका कारण संकट पुग्न लागेको भनिए पनि राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कले सकारात्मक देखाएको छ । चालु वर्षको जेठ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति १.७३ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा महँगी घटेको हो ।  यो वर्षको जेठ महिनामा मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो । त्यस्तै, रेमिट्यान्स नेपाली रुपैयाँमा २२.७ प्रतिशतले र अमेरिकी डलरमा १३ प्रतिशतले बढेको बैंकले जनाएको छ । यस्तै शोधनान्तर स्थिति पनि वचतमा देखिएको छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २१:००
Weather Update