माल्टा पठाइदिन्छु भनेर झन्डै ६ लाख ठगी, एक पक्राउ

काठमाडौं— नेपाल प्रहरीले माल्टा पठाइदिन्छु भनी पाँच लाख ८५ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माल्टामा मासिक एक लाख तलब हुने कम्पनीमा जागिर लगाइदिन्छु भनी पाँच लाख ८५ हजार ठगी गर्ने गोरखा पालुङ्टार नगरपालिका घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने २९ वर्षीय सुस्मा तामाङलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले एक लाख तलब हुने माल्टाको कम्पनीमा जानका लागि ६ लाख लाग्छ भनी पाँच लाख ८५ हजार लिएर ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।
तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० २०:१६