News Griha :: न्यूजगृह
आफ्ना सवारीसाधन चोरी हुनबाट कसरी जोगाउने ?

काठमाडौं— प्रहरीले चालु आर्थिक वर्षमा उपत्यकाका विभिन्न क्षेत्रबाट चोरिएको पाँच सय सवारीसाधान फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ । यसरी सवारीसाधान चोरीमा संलगन रहेको ३६ जनालाई कारबाही गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सोमबार मात्रै विभिन्न क्षेत्रबाट २१ वटा दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी धनीलाई हस्तान्तरण गरिएको जानकारी दिए । उनले १२ वटा मोटरसाइकल र नौ वटा स्कुटर धनीलाई हस्तान्तरण गरिएको बताए ।

अवैध रुपमा नेपाल भित्रिएका ९५ वटा सवारीसाधन भन्सार कार्यालयमा बुझाइएको र एउटा मोटरसाइकललाई थप अनुसन्धानको लागि यातायात व्यवस्था कार्यालय पठाइएको भट्टले बताए ।

चालु आवमै चोरीका २ पाङ्ग्रे ३२ सवारीसाधनसहित चोरीमा संलग्न ३६ व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए पनि स्वयं सवारी धनी पनि विशेष चनाखोका साथै सजग हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनी सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न प्रहरीले अनुरोध गरेको छ ।

आफ्नो सवारीको ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरी सवारीसाधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपाय अबलम्वन गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

यस्तै प्रहरीले मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न पनि अनुरोध गरेकाे छ । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १८:३९
Weather Update