News Griha :: न्यूजगृह
ताप्लेजुङका बाढीपहिरो पीडितले पाए राहत

ताप्लेजुङ— असारको पहिलो सातामा गएको बाढीपहिरोबाट प्रभावित मैवाखोला गाउँपालिकाका एक सय १४ घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

नेपाली कांग्रेस ताप्लेजुङ र कोशी प्रदेश सभा सदस्य खगेनसिं हाङ्गामको पहलमा सङ्कलित राहत सामग्री वितरण भएको हो ।

प्रभावित प्रति परिवारलाई २५ किलोका दरले चामलसहित नुन, तेल, चिनी, चिया र साबुन वितरण गरिएको छ ।

पहिरोबाट प्रभावित बनेका मैवाखोलाको ओदक, ताम्राङ, साँघु र ढुङ्गेसाँघुका स्थानीयवासीलाई उक्त क्षेत्रमै पुगेर राहत सामग्री वितरण गरिएको वितरण टोलीमा सहभागी किपा शेर्पाको भनाइ छ ।

राहत वितरणका लागि प्रदेश सभा सदस्य हाङ्गामसहित पार्टी सभापति गजेन्द्र तुम्याहाङ, पार्टी सचिव डम्बर हाङ्गामसहितको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेको थियो ।

यता बाढीपहिरोबाट प्रभावित सिदिङ्वा गाउँपालिकास्थित मेहेले र मेरिङ्देनको दोभानका घर परिवारलाई राहत वितरणको तयारी भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २२:००
Weather Update