
काठमाडौं— संयुक्त राजनीतिक दलित संघर्ष समितिले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार ज्ञापनपत्र बुझाउँदै दलित समुदायमाथि बढ्दै गएको हिंसाविरुद्ध उचित प्रशासनिक पहल लिन माग गरेको छ ।
तातोपानी गाउँपालिका–४, जुम्लामा अन्तरजातीय प्रेम विवाह गरेको आरोपमा दलित समुदायका मुकुन्द नेपालीको घरमा आगजनी हुनु, आरुघाट, गोरखाका सन्तोष नेपालीलाई अन्तरजातीय विवाहकै कारण जबर्जस्ती करणी मुद्दामा फसाइनु, भगवापुर, सिरहामा दलितहरूमाथि धम्की र कुटपिट जारी रहनु तथा बैतडी, कास्की, रुपन्देही, दाङलगायतका जिल्लामा निरन्तर भेदभावका घटना भइरहनुले संविधान र कानुनको उपहास भएको जनाउँदै संघर्ष समितिले उपप्रधानमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको हो ।
‘अन्तरजातीय प्रेम विवाह बढ्दै जाँदा त्यसलाई बालविवाह, अपहरण र जबर्जस्ती करणी नाममा दलितहरूलाई फसाउने आपराधिक काम हुँदै आएको छ । तसर्थ प्रशासन र न्यायिक क्षेत्रले अन्तरजातीय प्रेम विवाहलाई जातीय विभेद र उत्पीडनको संवेदनशीलताबाट बुझ्न जरुरी छ,’ज्ञापन पत्रमा भनिएको छ ।
गृहमन्त्रीको नेतृत्वमा केन्द्रमा र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा दलित संगठनहरू, पत्रकार महासंघ र मानव अधिकारवादी समेतको प्रतिनिधित्व हुने ‘जातीय छुवाछूत र विभेद अनुगमन तथा उन्मुलन समिति’ बनाउन समेत संघर्ष समितिले माग गरेको छ ।
जातीय छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ लाई संशोधन गरी पीडकलाई कम्तीमा पाँच वर्ष जेल सजाय हुनुपर्ने तथा उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग समेत संघर्ष समितिले गरेको छ।
दलित समुदायका सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयमा ‘दलित सहयोग डेस्क’ स्थापन गर्न र जातका आधारमा होइन थरका आधारमा नागरिकता लिन पाउने अधिकार निश्चित गर्न समेत माग गरिएको छ ।
कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका पार्टी सम्बद्ध दलित संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरू र बहालवाला तथा पूर्वसांसदहरू सहितको टोलीले संयुक्त हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाएको हो ।
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सबै मागहरू जायज भएको र त्यसलाई प्राथमिकतापूर्वक सम्बोधन गरिने विश्वास दिलाए ।