News Griha :: न्यूजगृह
डाँका आरोपमा वीरेन्द्रनगर–३ का वडाअध्यक्ष पक्राउ 

सुर्खेत— वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आइतबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले आइतबार दिउँसो वीरेन्द्रनगर नगरपालिकाबाट उनलाई पक्राउ गरेको जानकारी दिए ।

वडाध्यक्ष विष्ट र अन्य दुई जनालाई पैसा चोरेको आरोप लागेको थियो । उनीसहित अन्य दुई जनालाई खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार लुटेको आरोप लागेको छ ।

सो उपभोक्ता समितिले पैसा चोरीको उजुरी प्रहरीमा दिएपछि शुक्रबार सुशील गुरुङ र बलिराज शाहीलाई प्रहरीले पक्राउ गरिसकेको थियो ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १७:५६
Weather Update