News Griha :: न्यूजगृह
नौ घण्टापछि दुईतर्फी सञ्चालनमा आयो अवरुद्ध नारायणगढ–मुग्लिन सडक

काठमाडौं— पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आइतबार विहानदेखि सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । तीन  एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।

अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

pahiro-road-narayangadha-mugling1688862876.jpg

उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरे । यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

यस सडक हुँदै दैनिक हजारौ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०६:१३
Weather Update