News Griha :: न्यूजगृह
पहिरोले मुहान बगाउँदा विद्युत् अवरुद्ध
फाइल तस्बिर।

ढोरपाटन— अविरल वर्षाका कारण आएको पहिरोले विद्युत् मुहानसँगै नहर बगाउँदा ढोरपाटनका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । शुक्रबार गएको पहिरोले मुहानसहित नहर बगाउँदा ढोरपाटन नगरपालिका–७ का स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।

पहिरोले मुहानसहित करिब ३० मिटर नहर बगाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिए । विद्युत् अवरुद्ध हुँदा तीन सय घरधुरीका करिब एक हजार पाँच सय नागरिक विद्युत् सेवाबाट वञ्चित भएका उनको भनाइ छ ।

विद्युत् तत्काल सञ्चालनमा ल्याउनका लागि काम भइरहेको उपप्रमुख कायतले बताए । स्थानीयद्वारा जनश्रमदान भइरहेकाले केही समयमै विद्युत् सञ्चालन हुने उनले बताए । 

‘अहिले तत्काल पक्की पर्खाल लगाएर विद्युत् सञ्चालन गर्ने अवस्था छैन, जनश्रमदान गरी बर्खाभरिका लागि सञ्चालन गर्ने तयारी गरिरहेका छौँ,’ उपप्रमुख कायतले भने, ‘बर्खा रोकियो भने पक्की मुहान र नहर बनाएर विद्युत् सञ्चालन व्यवस्थित गर्नेछौँ ।’ बर्खाको समयमा पटक–पटक बाढीपहिरोले दुःख दिँदै आएको उनको भनाइ छ । रासस

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १३:५३
Weather Update