
काठमाडौं— नेपाल विद्यालय कर्मचारी संयुक्त आन्दोलन—२०८० ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा.प्रकाशशरण महत र शिक्षामन्त्री अशोककुमार राईको पुतला जलाउने तयारी गरेको छ ।
भोलि आइतबार (२४ असार) वार्ताको तयारी भएको र मागबारे सहमति नभए उनीहरूकाे पुतला जलाउने तयारी गरिएको विद्यालय कर्मचारी परिषद् स्रोतले जानकारी दिएको छ ।
स्रोतले भन्यो,‘हामी महिनौंदेखि माइतीघरमा आन्दोलनरत छौं । हामीले वषौंदेखि उठाएका माग पटकपटक आन्दोलन गर्दा पनि सुनुवाइ भएको छैन । सरकारले हामीलाई अति नै पेल्न खोजेको छ । अब हामी सहेर बस्दैनौं । भोलि आइतबार सरकार र हामीबीच वार्ता बस्ने तयारी छ । वार्ताबाट हाम्रा माग पूरा नभए प्रधानमन्त्री, अर्थमन्त्री र शिक्षा मन्त्रीको पुतला जलाउने हाम्रो तयारी छ ।’
स्रोतको भनाइमा माग पूरा नभए पुतला जलाउने मिति छिट्टै घोषणा गरिनेछ । प्रधानमन्त्री, अर्थमन्त्री र शिक्षा मन्त्रीले चाहेको खण्डमा माग तुरुन्त पूरा हुने पनि स्रोतले जानकारी दियो ।
विभिन्न पेसागत माग राख्दै आन्दोलन गरेको महिनौं भइसक्दा समेत सुनुवाइ नभएको भन्दै आगामी दिनमा विद्यालय कर्मचारीको आन्दोलन थप आक्रामक हुने बताइएको छ ।