News Griha :: न्यूजगृह
मकवानपुरमा ट्रक ठोक्किँदा तीनको मृत्यु

मकवानपुर— मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

शनिबार बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठोक्किएको हो ।

ठोक्किँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । दुर्घटनामा तीन जनाको ज्यान गएको कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा ना६ख ६६६७ नंको ट्रक चालक जिल्ला चितवन राप्ति नपा ८ बस्ने वर्ष २८ को रिहान रुम्बा तामाङ, सहचालक जिल्ला गोरखा गण्डकी गापा २ गोर्दीटार बस्ने वर्ष २१ को सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको कार्कीकाे भनाइ छ ।

आगलागी भएको सवारी निभाउन हेटौँडाबाट दुई वटा दमकल ल्याइएकाे थियाे । दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ना६ख ६६६७ नको ट्रकमा सवार जिल्ला चितवन राप्ति नपा ३ बस्ने वर्ष ३५ को विवेक तमाङ र ना६ख ६३१ नंको ट्रक चालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष ३२ को अर्जुनकुमार प्रजा रहेको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०८:५२
Weather Update