
काठमाडौं— नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गरेका छन् ।
सांसद खड्काले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर यही असार २ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट पीडित जनतालाई सरकारका तर्फबाट राहतको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
उनले सङ्खुवासभामा बाढीबाट १८ घरमा क्षति पुगेको, चार जलविद्युत् आयोजनामा पूर्ण क्षति र छ जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको बताए ।
बाढीले नहर तथा कुलो बगाउँदा कतिपय स्थानमा अहिलेसम्म पनि रोपाइँ हुन नसकेकाले आगामी दिनमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना हुने भन्दै उनले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।
बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत १९ मजदुर बेपत्ता भएका थिए । तीमध्ये दुई जनाको शव फेला परेको छ । तीनजना घाइतेको उद्धार गरिएको थियो ।
सङ्खुवासभाको हेवाखोलामा आएको बाढीले चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने पक्की पुल बगाएको थियो भने चैनपुर नगरपालिकाको निर्माणाधीन पुल बगाएको थियो ।
सांसद खड्काले पुल बगाउँदा आवतजावतमा समेत समस्या भएको बताए । भेटमा प्रधानमन्त्री दाहालले सरकार बाढीपीडित जनताको साथमा सधैँ रहेको उल्लेख गर्दै जनताको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।