News Griha :: न्यूजगृह
दाताले दिएको एक्सरे मेसिन प्रयोगविहीन

म्याग्दी— पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि एक्सरे मेसिन प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ ।

थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहु्ँदा दाताले दिएको  मेसिन  प्रयोगविहीन भएको हो । एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामीलाई सदरमुकाम बेनी आउनुपर्ने बाध्यता  छ ।

लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट–३२५ आई नेपालले उपलब्ध गराएको ५०० एमए एक्सरे मेसिन उपयोगहीन भएको लायन्स क्लब अफ दरबाङका अध्यक्ष थमन गौतमले जानकारी दिए ।

स्वास्थ्य केन्द्रमा पश्चिम म्याग्दीको मालिका,धवलागिरी गाउँपालिका साथै छिमेकी बाग्लुङका विभिन्न बस्तीबाट बिरामी आउने गर्दछन् ।

दैनिक ३० देखि ४० जनाले सेवा लिने केन्द्रमा अतिआवश्यक एक्सरे मेसिन नै प्रयोगमा नआएपछि समस्या भएको उनले बताए । स्वास्थ्य केन्द्रका डा.विजय शर्माले भने,‘एक्सरे मेसिन प्रयोग नहुँदा समस्या भएको छ, विद्युत् आपूर्ति गरी सञ्चालनको पहल भइरहेको छ ।’

उनका अनुसार स्पेपलाइजर ५० केभीएको मेसिन मालिका गाउँपालिकाले खरिद गर्ने सम्झौता भएको छ । एक्सरे मेसिन प्रयोगका लागि निक साइमनबाट रेडियोग्राफर सुमन चक्रधरसमेत केन्द्रमा कार्यरत छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०७:५१
Weather Update