
सिन्धुली— बीपी राजमार्गमा फोहोर फ्याँक्नेलाई जरिवाना लाग्ने भएको छ । राजमार्गको सुन्दरता कायम राख्न यस्तो व्यवस्था गरिएको हो ।
सवारी साधनका यात्रुले जथाभावी फोहोर फ्याँक्दा राजमार्ग कुरूप र दुर्गन्धित बन्दै गएकाले कमलामाई नगरपालिकाभित्र रहेको राजमार्ग क्षेत्रमा फोहोर गर्नेलाई कारबाहीस्वरूप जरिवाना तोकिएको नगरका वातावरण शाखा प्रमुख सागरकुमार ढकालले जानकारी दिए ।
‘बोमिट ब्याग’ फ्याँक्नेलाई रु पाँच सय, जंकफुडका खोल फ्याँक्नेलाई रु तीन सय ५० र अन्य फोहोर फ्याँके रु दुई सय जरिवाना तोकिएको छ’, उनले भने ।
उनका अनुसार प्लास्टिकका बोतल, पराग गुट्खा, जंकफुडका खोललगायत अन्य मानवजन्य फोहोरका कारण राजमार्गको सुन्दरतामा असर परेको छ ।
मानवजन्य फोहाेरको उचित व्यवस्थापन गर्नु आजको चुनौती भएको उनले बताए । कनपाले डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर साप्ताहिकरूपमा नियमित बृहत् सरसफाइको अभियान गत शुक्रबारदेखि सुरु गरेको छ ।
‘आफूसँग भएको फोहाेर समुचित ठाउँमा राखौँ’, ‘सभ्य नागरिकको परिचय दिउँ’ ‘सुन्दर बीपी राजमार्ग सफाइ अभियानमा सहभागी बनौँ’ भन्ने मुख्य नाराका साथ सुरुआत गरिएको यस अभियानको पहिलो दिन राजमार्गअन्तर्गत रहेको माझिटारदेखि हिरापानीसम्म सरसफाइ गरिएको थियो ।