News Griha :: न्यूजगृह
मादीमा पहिरोले दुई परिवार विस्थापित, चार घर जोखिममा
फाइल तस्बिर ।

कास्की— कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिरोले दुई घर परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । चार घर जोखिममा परेका छन् ।

मादीको वडा नं ६ का पाँच र वडा नं २ मा एक परिवार पहिरोको जोखिममा परेको गाउँपालिकाले जनाएको छ । यही असार १९ गतेको अविरल वर्षाले मादी–६ को काहुँखोला–दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घरलाई पहिराले जोखिम पुर्‍याएको हो । अविरल वर्षापछि घरसँगैको सडक पहिराले लैजाँदा स्थानीय कमलापति बरालको दुई घर र दीपक बरालको एक घर एक गोठमा क्षति पुगेको छ । 

यी दुवै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय लिएको सोही वडाका वडाध्यक्ष डिलबहादुर क्षेत्रीले बताए । 

त्यसैगरी स्थानीय शमसेर पाण्डेको एक घर, भगवानसिंह गुरुङको एक घर एक गोठ र विष्णुमाया घर्तीको एक घर र एक गोठ जोखिममा परेको  वडाध्यक्ष क्षेत्रीले घर जोखिममा परेकालाई उचित व्यवस्थापनका लागि गाउँपालिकामा सिफारिस गरिएको जानकारी दिए । 

वडाध्यक्ष क्षेत्रीले भने, ‘पहिराले विस्थापित परिवारलाई आफन्त तथा समाजघरमा राखिएको छ । प्रभावितको व्यवस्थापनका लागि गाउँपालिकामा सिफारिस गरेका छौँ ।’ 

गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले पहिराले पीडित परिवारलाई गाउँपालिकाबाट राहत प्रदान गरिने बताए । उनले विस्थापितलाई वैकल्पिक बसोबासका लागि पहल भइरहेको जानकारी दिए । अध्यक्ष गुरुङले भने, ‘विस्थापित परिवारलाई पालिकाबाट राहत दिन्छौँ । प्रदेश तथा सङ्घीय सरकारसँग समेत समन्वय गरी एकै दिन एउटै कार्यक्रम गरेर नियमानुसार उचित राहत प्रदान गर्नेछौँ ।’

अविरल वर्षा तथा पहिराका कारण मादीका अन्य वडामा समेत क्षति पुगेको बताइन्छ । विशेष गरी ग्रामीण सडकमा पहिराले क्षति गराएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ११:०१
Weather Update