
नारायणगढ— कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी)को अनुदान सहयोगले यस क्षेत्रका किसान उद्यमी बन्न थालेका छन् ।
कुल लगानीको २० प्रतिशत सहकारी/समूह वा व्यक्तिको, बैंक तथा वित्तीय संस्थाको अनिवार्य ३० प्रतिशत ऋण लगानी र ५० प्रतिशत आयोजनाले अनुदान दिने कार्यक्रम सफल बन्दै गएपछि यहाँका किसान उद्यमी बन्दै भएका हुन् ।
भरतपुर महानगरपालिका–६ स्थित देवनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड विगत एक वर्षअघिबाट एनएलएसआईपीको उपआयोजनाअन्तर्गत नमुना दुध तथा दुग्धजन्य पदार्थ प्रशोधन तथा विविधिकरण एवं बजारीकरण संस्थाको स्थापना गरी आफैँ उद्यमी बनेको छ । यो संस्था २०५२ सालमा स्थापना भएर दुध सङ्कलन गरेर निजी दुग्ध उद्योगलाई बिक्री वितरण गर्दै आएको थियो । एक करोड ७७ लाख रुपैयाँ लागत रहेको उक्त उद्योगले हाल दैनिक तीन हजार लिटर दुध सङ्कलन गर्दैआएको छ । संस्थाले दुध प्रशोधन गरेर बजारीकरण गर्दै आएको छ । जसबाट प्रत्यक्ष रूपमा २०५ जना शेयर सदस्य लाभान्वित भएका छन् । संस्थाले उद्योगबाट दुध दही, पनिर र नौनी बनाएर बजारमा बिक्री वितरण गर्दै आएको छ । सहकारीले दुधको उचित मूल्य दिएपछि किसान पशुपालन व्यवसायमा आकर्षित भएको संस्थाका व्यवस्थापक जनार्धन पौडेलले जानकारी दिए ।
एनएलएसआईपीको उपआयोजना लागु भएपछि विगतमा खासै व्यावसायिक नभएको देवनगर दुग्ध उत्पादक सहकारी संस्था हाल दुग्ध उद्योग स्थापना भएपछि कृषकलाई व्यावसायिक मार्गमा ल्याउन सफल भएको संस्थाका व्यवस्थापक पौडेल बताउँछन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट नगरपालिका–११ मा रहेको मुकुन्दपुर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले हाल आफ्ना किसानका लागि गाईभैँसीलाई चाहिने दाना आफैँ उत्पादन गर्दै आएको छ । विगतमा बाहिरबाट दाना किनेर बस्तुलाई खुवाउँदा उत्पादनमा कमी हुने तथा रोगले सताउने गरेको र हाल आफ्नै दाना उद्योग भएपछि उत्पादन बढेको यहाँका किसान बताउँछन् । एनएलएसआईपीको अनुदानका आफ्नै ठाउँमा दाना उद्योग खुलेपछि किसानलाई दानामा सहजता मिलेको हो ।
मुकुन्दपुरका किसान लक्ष्मण आचार्य सहकारीमार्फत गाउँमै दाना उद्योग खुलेपछि किसानलाई सहजता मिलेको बताउँछन् । पहिले गाईलाई खुवाउने बजारको दाना र हाल सहकारीले उत्पादन गरेको दानामा निकै फरक भएको भन्दै उनले अहिलेको दानामा पौष्टिकतत्व बढी र दुध उत्पादन धेरै भएको बताए । देशमै केही गरौँ भनेर गाईपालन गरेका आचार्य सहकारीमार्फत दाना उद्योग खुलेपछि व्यवसायमा थप हौसिएका छन् ।
हाल ४० गाईभैँसी पाल्दै आएका गैँडाकोट–१३ का नारायण पौडेलले सहकारीमार्फत दाना पाएपछि निकै सुविधा मिलेको बताउँछन् । मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाद्वारा सञ्चालित मुकुन्दसेन दाना उद्योगका अध्यक्ष गोपाल श्रेष्ठ पशु आहार व्यवस्थापनका लागि एनएलएसआईपीको कार्यक्रमअनुसार अनुदान पाएपछि उद्योग खोल्न सफल भएको बताउँछन् । संस्थाको उद्देश्यअनुसार दाना उत्पादन गर्दै आएको बताउँदै उनले हाल प्लेट दाना र धुलो दाना उत्पादन भएको जानकारी दिए । दाना उद्योग परीक्षणकै क्रममा रहेको अवस्था भए पनि उत्पादनमा सफलता मिलेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
हाल मासिक ९० टन दाना उत्पादन हुने गरेको उद्योगको आफ्ना किसानलाई वितरण गरी थप दानाको बजारीकरण गर्दै लक्ष्य रहेको छ । दाना उत्पादनमा कच्चा पदार्थको अभाव भने हुने गरेको बताउँदै श्रेष्ठले नेपालमै भएका कच्चा पदार्थ उपयोग गर्न पाएका अझ प्रभावकारी रूपमा दाना उत्पादन गर्न सकिने बताए ।
रत्ननगर नगरपालिका–१२ मा भैँसी तथा गाईपालन गर्दै आएका दिनेश खतिवडा आफ्नै देशमा श्रम र पसिना बगाउँ भन्ने धारणका साथमा विगत आठ वर्षदेखि यो व्यवसायमा छन् । विगतमा आफ्नै तरिकाले पशुपालन गर्दै आएका खतिवडाले एनएलएसआईपीको उपआयोजना लागु भएपछि हाल दैनिक ४०० लिटर दुध उत्पादन गर्छन् । पशुपालन गर्दा ब्रिड पहिचान गरी बढी उत्पादन लिन सकिने उनको अनुभव छ । एनएलएसआईपी आयोजना काम गर्ने किसानका लागि मात्र भएको खतिवडाको बुझाइ छ । यो कुरा आफूले काम गर्दै गर्दा बुझेको उनी बताउँछन् । एनएलएसआईपीको अनुदान लिएपछि उनले भकारो सुधार, ब्रिड तथा नश्ल सुधार, साइलेज निर्माण तथा भण्डारणजस्ता काम गरेका छन् ।
विगतमा अन्य उद्योग सञ्चालन गरेर लगानी पनि नउठेको अवस्थामा हाल विकल्प खोज्दै जाँदा कृषि व्यवसायमा हात हालेको चितवन माडीका विणुप्रसाद पङ्गेनी बताउँछन् । हाल उन्नत जातका बाख्रापालन गर्दै आएका उनी मासु उत्पादनमा केही योगदान दिन्छु भन्ने उद्देश्यका साथमा बाख्रापालनमा लागेका हुन् ।
सुरुका दिनमा सात/आठ बाख्राबाट सुरु गरेका उनले एनएलएसआईपीसँग जोडिन पुगेपछि दुई सयको हाराहारीमा बाख्रापालन गर्दै आएका छन् । उनको बाख्रापालनमा हाल रु २५ लाख लगानी पुगेको छ । पङ्गेनी भने, ‘एनएलएसआईपीका सरहरूले सिकाउँदा अहिले केही होलाजस्तो भएको छ यसरी गर्दा राम्रो हुने रहेछ पहिला आफ्नै ढङ्गबाट गरिन्थ्यो ।’ आयोजनासँग जोडिएपछि पहिला वार्षिक रु एक डेढ लाख आम्दानी गर्ने उनको आम्दानीको लक्ष्य वार्षिक १२ पन्ध्र लाख रहेको छ ।
विश्व बैंकको ऋण सहयोगमा आव २०७४/७५ देखि कार्यान्वयनमा आएको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन (एनएलएसआईपी) आयोजना आव २०८०/८१ मा सम्पन्न हुँदैछ । आयोजना सम्पन्न भएपछि यसअन्तर्गतका उपआयोजना स्थानीय सरकारको जिम्मामा हुनेछ । यस आयोजनाले कृषकलाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । रासस