
दाङ— दाङमा विगतभन्दा अत्यधिक आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुसी ल्याएको छ । ‘अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौं’, तुलसीपुर–७ प्रसेनीका किसान नवराज सुवेदीले भने,‘यसले हामीलाई खुसी बनाएको छ । हेर्दा पनि मनमोहक देखिन्छ ।’
आँप धेरै फुलेपनि यसलाई जोगाउन भने चुनौती रहेको किसान तुलसीपुर–९ निवासी दिवेश केसीले बताए । ‘हावाहुरी, असिना पानीले फूल झार्दिने हो की भन्ने चिन्ता छ’,उनले भने, ‘आँप धेरै फलेपनि त्यसको बजारीकरण नहुँदा कुहिएर जाने हो कि भन्ने पनि चिन्ता छ ।’
यस वर्ष आँपमा ‘अनएयर’ भएकाले पनि आँपमा धेरै फूल फुलेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । ‘फूलफुल्ने बिरुवामा एक वर्ष अनएयर र एक वर्ष अफएयर हुन्छ’,उनले भने, ‘यस वर्ष आँपको अनएयर चलिरहेको छ, त्यसैले आँप धेरै फुलेको हो ।’
असिना,पानी, हावाहुरीले असर नगरेमा यस वर्ष आँप उत्पादन वृद्धि हुने उनको भनाइ छ । दाङको पवननगर ,मानपुर र विजौरी क्षेत्र आँप उत्पादनका लागि उत्तम क्षेत्र मानिन्छ ।
अहिले दाङमा स्थानीय बिजु,सुपारी जातका आँप उत्पादन हुने गर्छ । त्यस्तै दसरी, माल्डा,अम्रपाली, नागपुरे ,बम्बे जातकाआँप उत्पादन हुने गरेको छ । जिल्लामा बर्सेनि आठ हजार मेट्रिकटनको हाराहारीमा आँप उत्पादन हुनेगर्छ ।