
काठमाडौं— प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले बालबालिकाको अधिकार सुनिक्षित र सुरक्षित गर्नका लागि आफू राजनीतिमा आएको बताएकी छिन् ।
बुधबार नेपाली चलचित्र ‘बगान’ द्वारा एकल आमालाई गरिएको सम्मान ग्रहण गर्दै उनले बालबालिकाको अधिकारका लागि विधेयक बन्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्,‘बालबालिकासम्बन्धी कुनै विधेयक बनेको छैन । उनीहरूको अधिकार सुरक्षित र सुनिश्चित हुनुपर्छ ।’
समारोहमा उपसभामुख रानाले छोरी भएको दुई वर्षमै दाम्पत्य जीवनको अन्त्य गर्न बाध्य भएको बताइन् ।
‘एकल महिलाको संघर्ष र समाजले हेर्ने दृष्टिकोण सच्चिन जरुरी छ, किनकि आमाको शक्ति आमा बनेपछि मात्र महसुस गर्न सकिन्छ,’ उनले भनिन् ।
सोही कार्यक्रममा एकल आमा भएर आफ्नो सन्तान हुर्काउने सीएनएन हिरो अनुराधा कोइराला, प्रदेश सभा सदस्य मीना श्रेष्ठ, सञ्चारकर्मी बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमलकुमारी केसी र अभिनेत्री पूजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान गरिएको थियो ।
उनीहरूलाई अभिनेत्रीत्रय भुवन चन्द, चैत्य देवी र वसुन्धरा भुसालले सम्मान गरेका थिए ।