News Griha :: न्यूजगृह
सीमा क्षेत्रमा बढ्यो काेराेना संक्रमण जोखिम

बैतडी— भारतबाट स्वदेश फर्किने नेपालीमा कोरोना संक्रमण देखा पर्न थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकामा संक्रमण देखिन थालेको हो ।

सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकामा नियमित कोरोना परीक्षणको कार्य जारी छ । सीमा नाकामा परीक्षण गर्दा दैनिक कोरोना संक्रमण देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

चैत्र महिना सुरु भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । ‘यो महिना कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमित सबै भारतबाट फर्किएका रहेका छन् । भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि सीमा क्षेत्रमा जोखिम बढेको छ,’ उनले भने ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट हाल दैनिक स्वदेश फर्किनेको क्रम पनि  बढेको हो । नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकामा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले संक्रमण पनि वृद्धि भएको जोशीले बताए । नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ ।

भारतमा संक्रमण तीव्र फैलिरहेकाले नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले बताए ।

भारतका विभिन्न कोरोना संक्रमण देखिन थालेकाले त्यसको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि देखिन थालेको हो । ‘भारतमा दिन प्रतिदिन संक्रमण फैलिरहेको त्यसको प्रभाव यहाँ पनि परेको छ,’ उनले भने,‘सुदूरपश्चिम प्रदेश पनि जोखिममा छ ।’

जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नाका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ ।  सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षण मार्फत् परीक्षणको काम भइरहेको  छ ।

संक्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको छ । प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ ।

भारतमा संक्रमण देखिएका शहरसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक  रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । ‘भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिममा नै त्यसको प्रभाव पर्न जाने भएकाले सतर्कता अपनाई स्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी छ,’ उनले भने ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ४४ हजार चार सय ५४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय २७ जनामा संक्रमण भइसकेको छ । संक्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  २०:४२
Weather Update