News Griha :: न्यूजगृह
असारे झरीले किसानलाई राहत 
फाइल तस्बिर ।

महोत्तरी— पानीबिना छटपटाएका महोत्तरीका किसानले बल्ल असारे झरीको महसुस गरेका छन् । असार तेस्रो साता बित्नैलाग्दा बल्ल गए राति  झमझम परेको पानीले यहाँका बासिन्दालाई असारे झरीको महसुस गराएको छ ।

मटिहानीका अजिज राइनले भने, ‘पानीले बल्ल माटो गलाएको छ ।’ पानी परेपछि अब धानखेतीलाई मद्दत पुग्ने उनको भनाइ छ । ब्याडमै सुक्दै गएको बिउ अब यो पानीले जाग्ने र एक/दुई दिनभित्रै रोपाइँ थाल्ने राइन बताउँछन् । 

भङ्गाहा–४ का ७० वर्षीय जब्बार शेष भन्छन्, ‘अपुग हुने बिउ राखिहाल्दा हुन्छ, पानीले साथ दिइराख्यो भने १५ दिनमा रोप्न मिल्छ ।’ साउन मध्यअघि बिउ रोपे धान उत्पादन राम्रै हुने उनले बताए । 

अधिकांश जग्गा आकाशे पानीकै भरमा गरिनुपर्दा यसपालि किसानले दुईतिहाइ भागमा धान रोपाइँ गर्न पाएका छैनन् । पानी नपर्दा धानको बिउ ब्याडमै सुक्दै गएको थियो । अब भने यसअघि राखिएको बिउ पानीले फेरिने र रोपाइँ थाल्न पाइने किसान बताउँछन् । 

ढिलो पानी परेको हुँदा बिउ अपुग हुनसक्ने कुरामा अहिले नै अड्कल गरेर काम गरिँदा अबका २० दिनमा धानको शाही रोप (बिउरोप) सकिने र भदौ पहिलो सातासम्म खरुअन (रोपिएको बिउरोपको धान गाँजिएपछि त्यो उखेलेर दोस्रोपटक रोपिने) रोप्न मिल्ने अवस्था छ । 

जिल्लामा कुल खेतीयोग्य जग्गा ७१ हजार हेक्टरमध्ये करिब ५० हजार हेक्टर धानखेती गर्न सकिन्छ । यसमध्ये १० प्रतिशतमात्र सिञ्चित (कुलो, नहर लाग्ने) हुँदा बाँकीमा आकाशे पानीकै भर पर्नुपर्छ । धानखेतीका लागि जेठ मध्यसम्म बिउ राखिसक्ने (बिउ ब्याडमा राख्ने, छर्ने) असार मध्यभित्र बिउ रोप सक्ने र साउन मध्यअघि खरुअन रोपिसकिनुपर्ने किसानको परम्परागत तालिका छ । यसपालि पानी नपर्दा यो तालिका खजमजिएपछि धान रोपाइँमा ढिलाइ हुँदै गएको हो । रासस

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ११:३०
Weather Update