७० लाख हिनामिना आरोपमा खल्ती वालेटका दुई कर्मचारी पक्राउ

काठमाडौं— कम्पनीको रकम हिनामिना गरेको आरोपमा मोबाइल वालेट कम्पनी ‘खल्ती’ का दुई जना कर्मचारी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सन्देश स्वाँर र अनिल कार्की (कर्मचारी) लाई पक्राउ गरेको हो । उनीहरूमाथि करिब ७० लाख रुपैयाँ हिनामिनाको आरोप छ ।
सिआईबीका अनुसार कम्पनीले नै दिएको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् । गत साता पक्राउ परेका उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान अघि बढाएको सिआईबीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
मोबाइल वालेटमा होल्डमा हुने कारोबारको हिसाब मिलाउन बनाइएको फन्डको रकम उनीहरूले डिजिटल कारोबार मार्फत् प्रयोग गरी ठगी गरेको कम्पनीको आरोप छ ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ २०:२८