
कास्की— कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ को कार्यालयमा तालाबन्दी गरिएको छ । सोही वडाका वडाध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको भन्दै नेकपा एमालेले वडा कार्यालयमा मंगलबार बिहानदेखि तालाबन्दी गरेको थियो ।
तालाबन्दीका कारण सेवाग्राही समस्यामा परेका छन् । असार मसान्तमा योजनाको भुक्तानी सिफारिसदेखि विभिन्न कामको चाप हुने समयमा तालाबन्दीका कारण सेवाग्राही समस्यामा परेका हुन् । नेकपा एमाले वडा कमिटी ८ र ९ ले संयुक्त रुपमा वडामा तालाबन्दी गरेका हुन् ।
गत असार १६ गते वडाध्यक्ष गुरुङले खोराकोमुख–उपल्लो इदीखोला सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई कुटपिट गरेको आरोप लागेको छ । पीडित भण्डारीले वडाध्यक्षमाथि कानुनी कारबाहीका लागि सोही दिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।
वडाध्यक्षमाथि पीडितले कानुनी कारबाहीका लागि प्रशासनमा उजुरी गरे पनि हालसम्म दोषीलाई कारबाही नभएपछि तालाबन्दी गरिएको एमाले माछापुच्छ्रे गाउँपालिका कमिटीका अध्यक्ष विक्रम गुरुङले बताए । राज्यशक्तिको आडमा वडाध्यक्षले पटकपटक दुर्व्यवहारका घटना घटाउँदा कारबाही नभएको उनको भनाइ छ ।
वडाध्यक्ष गुरुङले गत फागुन दोस्रो साता आफ्नै वडाका कर्मचारीमाथि हातपात गरेको आरोप लागेको थियो । अध्यक्ष गुरुङले भने, ‘कुटपिटपछि प्रहरीमा निवेदन दिँदासमेत प्रहरीले जाहेरी लिन मानेनन् । दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएर सुरक्षाको प्रत्याभूति नहुँदासम्म तालाबन्दी खुल्दैन ।’
वडाध्यक्ष गुरुङले भने सामान्य भनाभन भएको विषयलाई राजनीतिकरण गरेर उचालिएको बताए ।