दुर्घटनामा परी गम्भीर घाइते प्रधानाध्यापकको मृत्यु

दाङ— दाङमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५५ वर्षीय खोपिराम अधिकारीको मृत्यु भएको हो ।
उनको शिक्षण अस्पताल कोहोलपुरमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनको टाउको र अनुहारमा चोट लागेको थियो ।
अधिकारी आधारभूत विद्यालय कटाहाका प्रधानाध्यापक हुन् । गत शुक्रबार बिहान दुई मोटरसाइकल एकापसमा ठोक्किँदा उनी सहित चारजना घाइते भएका थिए ।
तुलसीपुर–अमेलिया सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ बुद्ध चोक नजिकै रा१प ८४४६ नंको मोटरसाइकल र रा४प २८६६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । रासस
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० १५:०६